काठमाडौं - गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म नेपाल टेलिकमको भ्वाइस सेवाको ग्राहक २ करोड ११ लाख पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको हो ।
यस्तै कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । साथै, कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको कम्पनीका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए ।
उनले भने, ‘टेलिकमले बजारको माग अनुसार कम्पनीले डाटा सेवामा जोड दिई सोही अनुरूप आफ्नो योजना कार्यान्वयन गर्दै सुविधा उपलब्ध गराउँदै आएको छ । यस आर्थिक वर्षमा कम्पनीले डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ । यसरी भ्वाइस र डाटा दुवै सेवामा यस कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको व्यहोरा यहाँहरू समक्ष राख्न पाउँदा म गौरवान्वित भएको छु ।’
गत आर्थिक वर्षमा कम्पनीले ४२ अर्ब २१ करोड कुल राजस्व संकलन गरेर ७ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रबद्र्धनको लागि प्रतिस्पर्धी मुल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा समेत कम्पनी उक्त नाफा कमाएको सफल भएको उनले बताए । प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।
प्रविधिको विकास, ग्राहकको आवश्यकता, आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको अपरिहार्यता जस्ता पक्षहरूको विश्लेषण र मुल्याङ्कन गरी कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष बनाई मुलुकभर ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा फोरजी।एलटीई सेवा उपलब्ध गराइसकेको छ । बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको कम्पनीको भनाई छ ।
पछिल्लो समय टेलिकमले सोलुखुम्बुको ३ हजार १३० मिटर उचाइमा रहेका विकट ताक्सिन्दु एवं जुभु र ओखलढुङ्गाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गम स्थानहरुमा मोबाइल सेवा आरम्भ गरेको छ । सेवाको स्तरोन्नति गर्दै सेवा विस्तार तथा गुणस्तर वृद्धि गर्ने क्रममा आर्थिक वर्ष २०७७/७८ मा थप १ हजार ५६६ इनोडिबी जडान गरी सञ्चालनमा ल्याइएको तथा प्रिभेन्टिभ मेन्टिनेन्स, नेटवर्क अप्टीमाइजेसन, ब्याट्रि ब्याकअप थप गर्ने जस्ता कार्यहरूलाई निरन्तरता दिइएको छ ।
उपभोक्ताको चाहना बमोजिम नवीनतम प्रविधिमा आधारित गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउनु कम्पनीको प्रमुख लक्ष्य रहेको र यसका लागि डाटा सेवा, भ्यालु एडेड सेवा लगायतका नवीनतम प्रविधिमा आधारित सेवाहरूको विकास तथा विस्तार गरिएको उनले बताए ।
प्रतिक्रिया