काठमाडौं - बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई महंगा गाडी खरिद नगर्न र सकेसम्म यो समयमा नयाँ गाडी नै खरिद नगर्न निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम उत्पन्न भइरहेको सन्दर्भमा सकेसम्म नयाँ गाडी नै खरिद नगर्न अनुरोध गरिएको बीमा समितिले जनाएको छ ।
केहि वर्ष अगाडी गाडी तथा महंगा सामाग्री खरिद गर्नु पर्दा बीमा समितिबाट अनुमति लिनु पर्ने व्यवस्था थियो । बीमा कम्पनीहरुले गाडी खरिदमा दुरुपयोग गर्ने भएकाले नियन्त्रण गर्न समितिबाटै स्वीकृति लिनु पर्ने व्यवस्था गरेको थियो ।
तर, समितिले बीमा कम्पनीको हरेक कुरालाई नियन्त्रण गर्न नसक्ने भए पछि घरजग्गा बाहेकको खरिद प्रकृयाँको अधिकार बीमा कम्पनीकै सञ्चालक समितिलाई दिएको थियो ।
समितिले नेपालको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै राज्यको आयातलाई निरुत्साहित पार्ने नीति अनुरुप अगाडी बढ्न अनुरोध गरेको हो । अर्को तर्फ बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई टार्गेट पुरा गरी बैदेशिक भ्रमणमा पठाउने गरेकोमा यस्तो कार्यलाई पनि रोक्न समितिले अनुरोध गरेको छ ।
समितिले अत्यावस्यक बाहेक बैदेशिक भ्रमणलाई पनि रोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सवारी साधन तथा पार्टपुर्जालगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र ९एलसी० नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिइसकेको छ । नीतिगत निर्णयमा सरकारलाई सहज बनाउन राष्ट्र बैंकले अघिल्लो बुधबार १६ बुँदे सुझाव दिएको थियो ।
प्रतिक्रिया