काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गतेदेखि चैत्र २१ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड अर्को साता हुने भएको छ ।
कम्पनीको आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको छ । डाटा भेरिफिकेसनको काम सक्याएर चैत्र २५ गते, शुक्रबार प्री-अलोटमेन्ट गर्ने तयारी रहेको क्यापितलले जनाएको छ ।
तर केहि कारणले शुक्रबार हुन नसके आईतबारसम्ममा प्रि-अलटमेन्ट सकेर अर्को सातामा आईपीओ बाँडफाँड हुने जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो ।
जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १५.७६ गुणा बढी आवेदन हो ।
प्रतिक्रिया