श्रीलंकामा हट्यो संकटकाल, अब सर्वदलीय सरकार गठन हुन सक्ने

३ बर्ष अगाडि

एजेन्सी - श्रीलंकामा संकटकाल हटाइएको छ । श्रीलंकामा अप्रिल ४ बाट संकटकाल घोषणा गरिएको थियो । 

राष्ट्रपति गोटाभाया राजापक्षेले संकटकाल हटाइएको घोषणा गरेका हुन् । आर्थिक मन्दीका कारण जताततै हिंसा सुरु भइसकेको अवस्थामा राष्ट्रपतिले स्थिति नियन्त्रणका लागि संकटकाल लगाउने निर्णय गरेका थिए । तर, अहिले उनले उक्त निर्णय रद्द गरेका छन् ।

अहिले सोही संकटकाल हटाउने निर्णय गरिए पनि यसका पछाडि के कारण छन्, त्यो भने अझै खुल्न सकेको छैन । श्रीलंकामा मुद्रास्फीति उत्कर्षमा पुगेको छ र जनताको धैर्यको बाँध टुट्दैछ । डिजेल लिन लामो लाइन बस्नुपर्ने र मट्टीतेलका लागि घन्टौँ कुर्नुपर्ने अवस्था छ । कागजको अभावका कारण विद्यार्थीको परीक्षा रद्द भएका छन् । 

पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएपछि अवस्था बिग्रिँदै गएको अनुमान गर्न सकिन्छ । प्रधानमन्त्रीका छोराले पनि पद छाड्ने निर्णय गरेका छन् । श्रीलंकामा अब सर्वदलीय सरकार गठन हुन सक्ने बताइएको छ । जसमा विपक्षी दलका नेताहरुको पनि सक्रिय सहभागिता रहनेछ ।

अहिले श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र भएको छ । किनकि श्रीलंकाको स्थिति नियन्त्रण बाहिर गइरहेको देखिन्छ । भारी ऋणका कारण श्रीलंकाको अर्थतन्त्रको यस्तो अवस्था भएको विज्ञहरुको भनाइ छ । 

त्यसमाथि अहिले श्रीलंकाको विदेशी मुद्रा सकिँदै गएकाले अन्य मुलुकबाट सहयोग खोज्ने पहल पनि फितलो देखिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया