काठमाडौं - जीवन बीमाको पहुँच फागुन मसान्तसम्ममा ३५ प्रतिशत पुगेको छ । बीमा समितिको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा जीवन बीमाको पहुँच ३५।४४ प्रतिशत पुगेको हो ।
गत आव २०७६/७७ को यसै अवधिमा जीवन बीमाको पहुँच २६.३० प्रतिशत रहेको थियो । पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच ९ प्रतिशतले बढेको देखिएको छ ।
फागुन मसान्तसम्मको प्राप्त संख्याको आधारमा पछिल्लो एक वर्षमा २९ लाख ९१ हजार ७६० जना नेपाली बीमाको दायरामा जोडिएका छन् । गत आवको फागुन मसान्तसम्म ८१ लाख ८७ हजार ९६८ जना नेपाली बीमाको दायरामा थिए ।
चालू आवको फागुन मसान्तसम्म त्यो संख्या १ करोड ११ लाख ७९ हजार ७२८ पुगेको तथ्यांकमा उल्लेख छ । वि.सं. २०७८ पुस मसान्तमा यस्तो संख्या १ करोड ५ लाख ३४ हजार ५२९ थियो । पछिल्लो २ महिनामा ६ लाख ४५ हजार १९९ जनामा जीवन बीमाको पहुँच बढेको हो ।
सरकारले चालू आवको असार मसान्तभित्र ३३.३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, फागुन मसान्तभित्र नै बीमाको पहुँच ३५ प्रतिशत नेपालीमा पुगेको समितिको तथ्यांक छ ।
चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान छ ।
प्रतिक्रिया