अमेरिकाको मुख्य हतियार डलर अब संकटमा पर्ला ?

३ बर्ष अगाडि

एजेन्सी - डलर अमेरिकाको मुख्य हतियार हो । विश्व बजारमा डलरको ८० वर्षको प्रभुत्वपश्चात विश्वव्यापी मुद्रा सञ्चितीमा अमेरिकी डलरको दबदबा जोखिममा पर्ने देखिएको छ । 

विश्व मुद्रा सञ्चितीमा १२.८ ट्रिलियन मूल्यबराबरको लगभग ६० प्रतिशत हिस्सा डलरको रहेको छ । जसले अमेरिकालाई अन्य देशहरुभन्दा धेरै विशेषाधिकार दिएको छ । डलरद्वारा समर्थित अमेरिकी सरकारको ऋण धेरै आकर्षक हुनुका साथै ब्याजदर पनि कम भएकाले यो विशेषाधिकारको आफ्नै महत्व रहेको छ । 

यसका कारण अमेरिकाले अन्य देशहरुबाट आफ्नै मुद्रामा ऋण लिन पाउँछ । त्यसैले यदि अमेरिकी डलरको मूूल्यमा गिरावट आउँछ भने ऋण पनि घट्छ । अमेरिकी व्यापारीहरुले विनियम शुल्क नतिरीकनै डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्न पाउँछन् । 

अप्ठेरो अवस्थामा अमेरिकाले विश्वभरका केन्द्रीय बैंकहरुमा डलरको पहुँच कटौती गर्न सक्छ । यसरी अमेरिकाले विश्वका देशहरुलाई एक्ल्याउन र उनीहरुको अर्थतन्त्रलाई संकटमा पार्न डलरलाई हतियारका रुपमा प्रयोग गर्न सक्छ । 

गत फेबु्रअरी महिनामा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले विदेशी मुद्राको ३६० बिलियन फिज्र गर्दै डलर हतियारले रुसमाथि आक्रमण गर्यो । जसका कारण रुसको मुद्रा रुबेलको मूल्यमा भारी गिरावट आएको छ । यसरी अमेरिकाले आफ्नो सेना युद्धमा संलग्न नगराइकनै रुसलाई दण्डित गर्न सफल भएको देखिन्छ । 

डलरलाई हतियारका रुपमा प्रयोग गर्ने अमेरिकी रणनीतिका बारेमा बैंक अफ अमेरिकाका रणनीतिकार माइकल हार्नेट भन्छन्, ‘यसले डलरलाई पतन गर्न सक्छ । विश्वको वित्तीय प्रणालीलाई राजनीतिका आधारमा विभाजन गर्दा यसले रिजर्भ मुद्राका रुपमा अमेरिकाको भूमिकालाई कम गर्नेछ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सर्वाजनिक गरेको नयाँ अनुसन्धानपत्रले विगत दुई दशकदेखि अमेरिकाले आतंकवादविरुद्धको लडाइँ र आतंकवादविरुद्ध प्रतिबन्ध लगाएसँगै अन्तर्राष्ट्रियस्तर डलर सञ्चितीको हिस्सा घट्दै गएको जनाएको छ । यो अवधिमा विश्व मुद्रा सञ्चितीको एक चौथाइ हिस्सा चिनियाँ युआनमा र बाँकी तीन चौथाइ हिस्सा साना देशहरुको मुद्रामा सरेको छ । 

युआन स्वीकार गर्न साउदी अरबको बेइजिङसँग वार्ता 
यसैबीच चीनलाई तेल बिक्री गर्दा डलरको साटो युआन स्वीकार गर्न साउदी अरबले बेइजिङसँग वार्ता गरिरहेको छ । दुई वर्षले अन्तर्राष्ट्रिय जगतलाई सिकाएको पाठका आधारमा भन्ने हो भने यहाँ केही पनि असम्भव छैन । तर डलरलाई लिएर अमेरिकाले पाउँदै आएको विशेषाधिकार गुमाउने सम्भावना भने कम नै देखिन्छ । 

चीनले आफ्नो मुद्रा युआनलाई बढावा दिन वर्षौंदेखि प्रयास गरिहेको छ । तर, अथक प्रयासका बाबजुद पनि विश्वभर हुने कुल कारोबारमा युआनको हिस्सा जम्मा ३ प्रतिशतमात्रै छ। जब कि विश्व कारोबारमा डलरको हिस्सा ४० प्रतिशत छ । 

बाँकी विश्वका लागि अमेरिका अहिले पनि आकर्षक बजारमा रुपमा रहेको छ । अमेरिकी सेयर बजार विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा धेरै तरलता भएको सेयर बजार हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया