नियुक्त भएको दुई दिनमै राजीनामा दिए श्रीलंकाका अर्थमन्त्री

४ बर्ष अगाडि

एजेन्सी - श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले आफू नियुक्त भएको दुई दिनमै राजीनामा दिएका छन् ।

राष्ट्रपति गोतावाया राजापाक्षले गत सोमवार मात्र उनलाई  अर्थमन्त्रीमा नियुक्त गरेका थिए । उनले यसअघि न्याय मन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले मंगलवार अपरान्ह राष्ट्रपति राजापाक्षलाई राजीनामा बुझाएका हुन् ।  उनले धेरै सोच विचार गर्दा अहिलेको आर्थिक संकटबाट पार पाउन नयाँ अपूर्व कदम चाल्नुपर्ने लागेकाले आफूले राजीनामा दिएको बताएका छन् ।

यसअघि राजापाक्षले आफ्ना भाइ बासिल राजापाक्षलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए । बासिलले क्याबिनेटका अरू सदस्यसँगै गत आइतवार राजीनामा दिएका थिए ।

आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षले सोमवार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् तर अहिलेसम्म अन्य राजनीतिक दलका कोहि  सहभागी भने भएका छैनन् ।

 राष्ट्रपति कार्यालयका अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा समेटिने  छ ।  राष्ट्रपतिले सानो आकारको मन्त्रिपरिषद विस्तार गरेका छन् ।

यसैबीच श्रीलंकामा केही समययता आर्थिक संकट, घण्टौं लामो लोडसेडिङ, इन्धन अभावलगायत समस्याको विरोध गर्दै दैनिक प्रदर्शन हुँदै आएको छ । सरकार देशको आर्थिक संकटप्रति उदाशीन बनेको भन्दै छिट्टै समाधान गर्न प्रदर्शनकारीले सरकारलाई दबाब दिएका छन् ।

 सरकारविरोधी प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरेको छ तर त्यहाँका नागरिकहरुले उल्लंघन गर्दै आएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया