फागुनसम्ममा जीवन बीमा कम्पनीहरुले गरे ९२ अर्ब २० करोड बढी बीमाशुल्क आर्जन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, चालू आर्थिक वर्षको आठ महिना जीवन बीमा कम्पनीहरुले ९२ अर्ब २० करोड बढी बीमाशुल्क आर्जन गरेका छन्। जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको फागुनसम्ममा ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.१७ प्रतिशत धेरै हो।

गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए।

व्यवसाय विस्तारमा नयाँ कम्पनीहरु आक्रमक बन्दै,  नेपाल लाइफको अग्रता भने कायमै
जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले २३ अर्ब ९३ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ। यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५।९५ प्रतिशत हो।

गत आर्थिक वर्षको फागुनसम्ममा कम्पनीले २२ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यस अवधिमा सन नेपाल लाइफको बीमाशुल्क ९३.२० प्रतिशतले बढेर २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो।

सिटिजन लाइफको कुल बीमाशुल्क पनि ६८.२० प्रतिशतलले बढेर ३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

यस्तै महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु लाइफ र आइएमई लाइफले बीमा शुल्क ३० प्रतिशत भन्दा धेरैले बढाएका छन्।

सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने मेट लाइफ इन्स्योरेन्स रहेको छ। मेट लाइफको बीमाशुल्क यस अवधिमा १.७९ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यो जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कको ३.८७ प्रतिशत मात्रै हो।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा गुराँस लाइफ बाहेक सबै जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क बढाएका छन्।

गुराँस लाइफको बीमा शुल्क २२.११ प्रतिशतले घटेर २ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो। 

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनामा कुल ८२ अर्ब २० करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। त्यसमध्ये २८।१० प्रतिशत अर्थात २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्कबाट मात्रै संकलन भएको छ।

यस्तै नविकरण शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ ।

यस अवधिमा एक करोड ११ लाख ७९ हजार ७२८ वटा सक्रिय बीमालेख रहेको समितिको तथ्यांक छ।

  

४ बर्ष अगाडि

प्रतिक्रिया