काठमाडौँ - यहि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाबाट मेयरको उम्मेदवार घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्ने एजेण्डामा सुझावका लागि अपिल गरेकी छिन् ।
‘देशभरका ७५३ वटै स्थानीय तहमा यहि बैशाख ३० गते एकैसाथ निर्वाचन हुँदैछ,’ उनले सार्वजनिक गरेको अपिलमा भनिएको छ,’ ‘उक्त निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने मैले यस अघि नै घोषणा गरिसकेको विदितै छ ।’ उनले मेयर पदमा निर्वाचित भै काठमाडौँलाई सुन्दर र व्यवस्थित सहर बनाउने आफ्नो सपनालाई मूर्त रुप प्रदान गर्न युवाहरुको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा गरेको बताएकी छिन् ।
‘काठमाडौँ म जस्ता लाखौँ युवाको भाग्य र भविश्य निर्माण गर्ने सहर हो । म यहि सहरमा जन्मिए, म यहिँको माटोमा हुर्किए र धेरै कुरा सिक्ने अवसर पनि यहिँको माटो र परिवेशबाट प्राप्त गरेँ,’ उनले भनेकी छिन्, ‘त्यसैले मैले यहि माटोमा मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौँको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ ।’
डंगोलले मुलुक समृद्ध बनाउन नयाँ सोँच र जोस भएका युवा आवश्यक रहेको पनि अपिलमा उल्लेख गरेकी छिन् । ‘अहिलेको यो सूचना–प्रविधिको युगमा त्यसको उच्चतम उपयोग गर्दै मुलुक समृद्ध बनाउने हो भने युवाकै आवश्यकता देखिन्छ,’ अपिलमा भनिएको छ, ‘समृद्ध र सुन्दर काठमाडौँ महानगर बनाउन युवाहरुको भिजन अहिलेको आवश्यकता हो । त्यसैले मैले मेयर पदको उम्मेदवार बन्दै गर्दा आफू भन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह, युवाको नूतन सोँच र सवै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
डंगोलले युवाहरुका नूतन सोँच र योजनालाई समावेश नगर्ने हो भने मेरो चुनावी घोषणापत्र अधुरो बन्न सक्ने पनि उल्लेख गरेकी छिन् । ‘त्यसैले यो सहरको मात्रै होइन मुलुककै भाग्य र भविश्य निर्माण गर्ने युवाहरुलाई साँस्कृतिक सहर काठमाडौँलाई थप समृद्ध बनाउने अठोटका लागि निर्माण गर्ने घोषणापत्रमा नविनतम् सोँच समावेश गर्न युवाहरुका नूतन योजनाका लागि यहि अपील मार्फत आग्रह गर्दछु,’ अपिलमा भनिएको छ ।
प्रतिक्रिया