काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिहान ८ः३० बजे ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड गरेको हो ।
आईपीओ बाँडफाँड कार्यक्रम नयाँबानेश्वरस्थित क्यापिटलको कार्यालयमा राखिएको थियो । कम्पनीले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
कुल कित्तामध्ये ३ प्रतिशतले हुन आउने ९३ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।
उक्त आईपीओमा कुल २१ लाख ११ हजार ६४९ आवेदकले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए । तीमध्ये २१ लाख ६ हजार ५१६ आवेदकबाट परेको २ करोड ४२ लाख ७७ हजार कित्तामात्रै सदर भएका छन् । बाँकी ५ हजार १३३ आवेदकबाट परेको ७४ हजार ८८० कित्ता बदर भएको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा २ लाख ८७ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी १८ लाख १९ हजार १६ आवेदकको हात खाली भएको छ ।
यो आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट https://laxmicapital.com.np, सीडीएससीको मेरो सेयर र https://iporesult.cdsc.com.np मा सकिनेछ । आईपीओको अन्तिम नतिजा केही घन्टाभित्रै हेर्न सकिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया