काठमाडौं - अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेसँगै मलेसियाले आफ्नो देश प्रवेशमा प्रतिबन्धित व्यक्तिहरूको कालो सूची पुनः सक्रिय गरेको छ ।
मलेसियाका गृहमन्त्री हमजाह जैनुदिनले राष्ट्रिय सुरक्षा उच्चतम स्तरमा रहेको सुनिश्चित गर्नका लागि मलेसिया प्रवेश प्रतिबन्धित व्यक्तिहरूको कालोसूची पुनः सक्रिय गरेको बताएका छन् ।
करिब दुई वर्षपछि मलेसियाले अप्रिल एक तारिखदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा खुल्ला गरेकोे छ । शनिबार आयोजित एक कार्यक्रममा गृहमन्त्री हजमानले कुन देशका नागरिक कालोसूचीमा बढी मात्रामा रहेका छन् भन्ने नखुलाउने बताए ।
मलेसियाले मुस्लिम अतिवादीहरूको सामुहिक प्रवेशलाई रोक लगाउने मुख्य लक्ष्य राखेर प्रतिबन्धित व्यक्तिहरूको गोप्य सूची बनाउने बताए पनि त्यसबाट अध्यागमन कानून उल्लंघन गरेर स्वदेश फर्किएका आप्रवासी कामदारको पुनः प्रवेशमा पनि समस्या निम्त्याउने बताइएको छ ।
रोजगारीका लागि मलेसिया गएका नेपाली कामदारहरू लुकेर लामो समय बसेका र आपराधिक गतिविधिमा लागेर जेल सजाय पाएकाहरू कालोसूचीमा पर्ने गरेका छन् ।
प्रतिक्रिया