एजेन्सी - रसिया(युक्रेन युद्धसँगै दक्षिण एशियाली सार्क मुलुकहरुको मुद्रा कमजोर भएर विस्तारै घट्न थालेको छ । १ अमेरिकी डलर खरिद गर्न पनि दक्षिण एशियालीका सार्क मुलुकले धेरै स्थानीय मुद्रा खर्च गर्नु पर्ने अवस्था आएको हो ।
श्रीलंका
पछिल्लो समय सार्कमा आबद्ध श्रीलंकाको अवस्था एकदमै नाजुक रहेको रिपोर्टहरु आइरहेका छन् । एक अनलाइन पोर्टलका अनुसार श्रीलंकाले कागज किन्न नसकेकै कारणले श्रीलंकाली विद्यार्थीहरुको वार्षिक परिक्षा समेत अवरुद्ध भएको छ ।
रिपोर्टहरुका अनुसार श्रीलंको विदेशी मुद्रा सञ्चिति गत २ वर्षमा ७० प्रतिशतले गिरावट आएर गत फेब्रुअरीको तथ्यांकअनुसार २ अर्ब ३१ करोड अमेरिकी डलर मात्रै रहेको छ । विदेशी मुद्रा सञ्चितिमा कमी आउँदा श्रीलंकाले अति आवश्कीय वस्तुहरु औषधी, खाद्यपदार्थ र ऊर्जा आयात गर्न सकिरहेको छैन् ।
ऊर्जा आयातमा कमीमा कारण सरकारले १३ लाख कर्मचारीलाई आगामी दुई दिन घरबाट काम गर्न भनेको छ जसले गर्दा सरकारलाई ऊर्जा व्यवस्थापन गर्न ठोस सहयोग होस् । यही अवस्थाका कारण श्रीलंकामा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा कारोबार भइरहेको छ । शुक्रबारको विदेशी मुद्रा विनिमय हुँदा १ अमेरिकी डलर खरिद गर्न २९४.६८ श्रीलंकाली रुपैयाँ खर्च गर्नु परेको अवस्था छ ।
पाकिस्तान
सार्क राष्ट्रमा दोस्रो कमजोर मुद्रा पाकिस्तानको रहेको छ । १ अमेरिकी डलर खरिद गर्न अहिले १८४.६३ पाकिस्तानी रुपैयाँ खर्च गर्नु परेको अवस्था छ । गत मार्च २५ को स्टेट बैंक अफ पाकिस्तानको रेकर्ड अनुसार पाकिस्तानसँग अहिले १२ अर्ब ४ करोड ७३ लाख अमेरिकी डलर सञ्चिति रहेको छ जबकि मार्च १८ मा पाकिस्तानसँग १४ अर्ब ९६ करोड २४ लाख अमेरिकी डलर रिजर्भ थियो ।
पछिल्लो समय पाकिस्तानले विदेशबाट रेमिट्यान्स भित्र्याउन विभिन्न योजनाहरु अगाडि सारेको छ। २ सय डलर भन्दा माथिको रेमिट्यान्स देशमा भित्र्याउँदा सर्भिस चार्ज नलाग्ने लगायतको व्यवस्थाहरु गरेको छ ।
नेपाल
नेपालमा पनि पछिल्लो समय चुलिंदा आयात एवम् घट्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिको स्थिति भयावह छ । राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चितिले ६/६ महिनाको वस्तु तथा सेवा मात्रै धान्न पुग्ने स्थिति रहेको छ ।
नेपालसँग हाल ९ अर्ब ७५ करोड डलर मात्रै विदेशी विनिमय सञ्चिति रहेको छ । पछिल्लो विनिमय अनुसार १ अमेरिकी डलर खरिद गर्न नेपालले १२१।३९ नेपाली रुपैयाँ खर्च गर्नुपर्छ । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग १ बराबर १।६ को अनुपातमा स्थिर विनिमय प्रणाली रहेको हुँदा भारतीय अर्थतन्त्रमा तल माथि हुँदा त्यही अनुसार नेपाली रुपैयाँ पनि अधिमूल्यन एवम् अवमूल्यन हुने गरेको छ ।
अफगानिस्तान
सार्क राष्ट्रमा चौथो कमजोर मुद्राको रुपमा अफगानिस्तानको अफगानी रहेको छ । ९ अर्ब ४४ करोड ६० लाख अमेरिकी डलर रिजर्भ रहेको छ । १ अमेरिकी डलर खरिद गर्न ८८.९३ अफगानी खर्च गर्नुपर्दछ ।
बंगलादेशी
पाँचौ कमजोर मुद्रामा भने बंगलादेशी टाका रहेको छ । बंगलादेशसँग ४१ अर्ब ९० करोड अमेरिकी डलर सञ्चिति रहेको छ । विश्वको गार्मेन्ट बजारमा बंगलादेश चीन र भियतनामपछि तेस्रो स्थानमा रहेको छ ।
निर्यात व्यापारमा अब्बल रहेका कारण बंगलादेशको विदेशी मुद्रा सञ्चिति एकदमै राम्रो अवस्थामा छ । बंगलादेशले अमेरिकी डलरको विनिमय डि फ्याक्टो विनिमय प्रणाली अनुसार गर्ने गर्दछ । यसले मुद्राको यथार्थ मूल्यलाई प्रतिविम्वित गर्दैन ।
भु्टान
सार्क देशहरुमध्ये सबैभन्दा सानो देश भुटान हो । भु्टानले आफ्नो मुद्रालाई भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणालीमा राखेको छ । नेपालजस्तै भुपरिवेष्ठिट राष्ट्र भुटानले १ अमेरिकी डलर खरिद गर्न ७७.८८ ङगुलट्र्म खर्च गर्नुपर्ने अवस्था छ । पछिल्लो समय जलविद्युतमा गरेको तीव्र विकासका कारण भुटानको कुल ग्राहस्थ उत्पादन एकदमै राम्रो अवस्थामा छ । सानो अर्थतन्त्र भए पनि भुटानसँग १ अर्ब ६३ करोड अमेरिकी डलर सञ्चिति रहेको छ ।
भारत
सार्क राष्ट्रमा सबैभन्दा ठूलो अर्थतन्त्र भारत हो । भारतले लिने आर्थिक नीतिहरुले सार्क राष्ट्रको अर्थतन्त्रमा ठूला असर पर्ने गरेको छ । नेपाल र भुटानजस्तो सानो देशले भारतको नीतिलाई नै हेरेर आफ्नो नीतिहरु परिमार्जन गर्ने गर्दछ । १ अमेरिकी डलर किन्न भारतले ७५.९६ भारु खर्च गर्नुपर्ने अवस्था रहेको छ । भारतीय रिजर्भ बैंकको तथ्यांक अनुसार मार्च ४ सम्ममा भारतसँग ६३१ अर्ब ९२ करोड अमेरिकी डलर रिजर्भ रहेको छ ।
माल्दिभ्स
अमेरिकी डलरसँग तुलना गर्दा सार्क राष्ट्रमा सबैभन्दा बलियो मुद्रा भने माल्दिभ्सको रुफिया रहेको छ । टापु नै टापुहरुको देश माल्दिभ्सको मुख्य आम्दानी पर्यटनमा निर्भर रहेको छ । माल्दिभ्सले १ अमेरिकी डलर किन्न १५.४५ रुफिया खर्च गर्नुपर्छ । माल्दिभ्सँग २०२२ जनवरीसम्म ७ अर्ब ४४ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ ।
प्रतिक्रिया