काठमाडौं - नेपालको प्रधानमन्त्री नेपालको कार्यकारी निकाय अर्थात् नेपाल सरकारको अध्यक्ष, नेपालको राष्ट्रपतिको सल्लाहकार साथै नेपालको मन्त्रिपरिषद्को प्रमुख हुने गर्छ ।
प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य तथा संसदीय प्रणालीमा सरकारको कार्यकारिणीमा मन्त्रिपरिषद्का वरिष्ठ सदस्य हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरू छान्न र खारेज गर्न सक्छन् र सरकार भित्रका सदस्यहरूको पद बाँडफाँड गर्न सक्छन् ।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको सङ्घीय मन्त्रिपरिषद्लाई कार्यकारीको कामकाजको व्यवस्थापनमा सहयोग पुर्याउन नेपालको राष्ट्रपतिले तोकेका हुन्छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभामा बहुमतको विश्वासको मत प्राप्त गर्न सक्नु पर्दछ र राष्ट्रपतिको निर्देशनमा बहुमत प्रमाणित गर्न नसकेमा राजीनामा गर्नुपर्नेछ ।
नेपालको प्रधानमन्त्रीको निवास बालुवाटार, काठमाडौँमा रहेको छ । अहिले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् । उनी पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् । देउवा मात्र होइन अरु व्यक्ति पनि नेपालमा पाँच पटक प्रधान मन्त्री भइसकेका छन् ।
शेरबहादुर देउवा
पाँचौँपटक प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो पटक २०५२ भदौ २७ गते प्रधानमन्त्री बने । त्यसपछि २०५८ साल साउन ११ गते दोस्रो पटक प्रधानमन्त्री बनेका देउवालाई पुनः २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्ने अवसर जुर्यो ।
२०७४ साल जेठ २४ गते चौथो पटक प्रधानमन्त्री बन्ने अवसर पाएका देउवा अन्ततः २०७८ साल असार २९ गतेबाट पाँचौं पटक प्रधानमन्त्रीको कुर्सी सम्हालेका छन् ।

गिरिजाप्रसाद कोइराला
नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला पनि पाँच पटकसम्म प्रधानमन्त्री बनेका थिए । एउटै बाबुका तीन सन्तान प्रधानमन्त्री बन्ने अवसर पाएका कोइराला परिवारका गिरिजाप्रसाद कोइराला २०४६ को जनआन्दोलनपछि भएको निर्वाचनलगत्तै पहिलोपटक २०४८ साल जेठ १२ गते नेपालको प्रधानमन्त्रीमा नियुक्त भए ।
त्यसपछि २०५५ साल वैशाख २ गते दोस्रो पटक प्रधानमन्त्री बनेका कोइराला २०५६ साल चैत ९ गते पुनः तेस्रोपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । त्यसपछि गणतन्त्र स्थापना भएपछि २०६३ साल वैशाख १२ गते प्रधानमन्त्री बनेका कोइराला २०६५ जेठ १५ गते पाँचौँपटक पुनः प्रधानमन्त्री बनेका थिए । कोइरालाले पाँच पटकको प्रधानमन्त्रीत्व कालमा जम्मा ३ हजार ३२ दिन अर्थात् ८ वर्ष ३ महिना २२ दिनसम्म देशमा प्रधानमन्त्रीका रुपमा काम गरेका थिए ।

सूर्यबहादुर थापा
राजा महेन्द्रको पालामा सूर्यबहादुर थापा सबैभन्दा पहिलोपटक २०२० साल पुस ८ गते प्रधानमन्त्री भएका थिए । पहिलोपटक ६५ दिन प्रधानमन्त्रीमा रहने अवसर पाएका सूर्यबहादुर थापाले दोस्रोपटक २०२१ माघ १३ गते पुनः प्रधानमन्त्री हुने अवसर पाएका थिए । त्यसपछि थापाले लगातार चार वर्षभन्दा धेरै अवधि प्रधानमन्त्री भएका थिए ।
त्यसपछि थापा २०३६ साल जेठ १६ गते प्रधानमन्त्री बन्ने तेस्रो अवसर पाए । त्यतिबेला थापाले पुनः चार वर्षभन्दा बढी अवधि प्रधानमन्त्री भएर बिताए । पञ्चायतकालमै ३ पटक प्रधानमन्त्री भएका थापाले २०४६ सालको जनआन्दोलन पछि पनि दुईपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । थापा चौथो पटक २०५४ साल असोज २१ गते प्रधानमन्त्री भए ।
त्यतिबेला थापाले ६ महिनाभन्दा बढी प्रधानमन्त्रीका रुपमा काम गरे । त्यसपछि थापा २०६० साल जेठ ५ गते अन्तिमपटक वा पाँचौं पटक प्रधानमन्त्री भए । यससँगै थापा नेपालको इतिहासमा सबैभन्दा बढी २ हजार ६ सय ६५ दिन अर्थात् १० वर्ष ५ दिनसम्म प्रधानमन्त्री रहेका थिए ।
प्रतिक्रिया