काठमाडौं, बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन साढे १० लाख बढी आवेदन परेको छ ।
सीडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ६२ हजार ५७५ आवेदकबाट कुल १ करोड २६ लाख १ हजार ५१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.५७ गुणाले बढी हो।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ हिजो चैत १६ गतेबाट निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको छ।
कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ७३ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ। बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउँछन्।
मागभन्दा बढी आवेदन परिसकेकोले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। यो आईपीओको निष्कासन बन्द चैत २१ गते हुनेछ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
बलेफी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया