७.३७ प्रतिशत लाभांश पारित गर्न आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो २४औँ वार्षिक साधारण सभा वैशाख ९ गते बोलाएको हो । 

सभा काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ । सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । 

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.५३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।

सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ । यस्तै लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही चैत २५ गतेदेखि आउँदो वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले चैत २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया