स्टक बाइब्याक बन्द गर्ने योजनामा अमेरिकी राष्ट्रपति बाइडेन

४ बर्ष अगाडि

एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार गरेको आर्थिक वर्ष २०२२/२३ को बजेट भाषणमा उनले स्टक बाइब्याक बन्द गर्ने योजना अघि सारेका छन् । अमेरिकाको आर्थिक वर्ष २०२२/२३ को कुल बजेट ५० खर्ब ८० अर्ब डलर रहेको छ ।

अमेरिकामा कर्पोरेट क्षेत्रको कुल ९० प्रतिशत सेयर १० प्रतिशत धनाढ्य व्यक्तिहरुको नियन्त्रणमा रहेको छ । यसै प्रवृत्तिलाई रोक्न बाइडेनले स्टक बाइब्याक बन्द गर्ने योजना बनाएका छन् । 

धनाढ्य व्यक्तिहरुले आफुलाई मनलाग्दो रुपमा कम्पनीको सेयर किनेर होल्ड गर्ने र बेच्ने हुँदा कर्पोरेट क्षेत्रबाट आउने फाइदा अर्थतन्त्रमा नगई धनाढ्य व्यक्तिहरुको गोजीमा तथा कम्पनीमा जाने भएकाले, उक्त प्रक्रिया रोक्न बाइडेनले यो योजना प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ ।

गत वर्ष एसएन्डपी ५०० सेयर सूचांकले ८ खर्ब अमेरिकी डलर बराबरको कम्पनीहरुले सेयर बाइब्याक गरेको तथ्यांक निकालेको थियो । यो तथ्यांक बढ्दो क्रममा रहेको छ । गोल्डम्यान स्याचले प्रकाशन गरेको पछिल्लो तथ्यांक अनुसार सन् २०२२ मा स्टक बाइब्याकको आकार १० खर्ब अमेरिकी डलर बराबर पुग्ने अनुमान गरिएको छ ।

बाइडेनले अघि सारेको प्रस्तावित योजना अनुसार कम्पनीका व्यवस्थापन प्रमुखहरुले केही वर्षको लागि स्टक होल्ड गरेर राख्नुपर्ने र केही वर्षपछि बाइब्याकलाई योजनाबद्ध रुपमा सञ्चालन गर्नपर्ने उल्लेख गरिएको छ । 

ह्वाइट हाउसले कति वर्षसम्म होल्ड गर्नुपर्ने बारेमा केही पनि बताएको छैन । यसका साथै बाइडेनले कर्पोरेट बाइब्याकमा एक प्रतिशत कर लगाउने नीति ल्याएका छन् ।

बाइडनको यो नीतिको चर्को आलोचनाका साथै सराहना पनि भइरहेको छ । आलोचकहरुले बाइब्याक बन्द गर्दा कम्पनीहरुको सेयरको तरलता नहुने तथा सेयर मूल्यमा कमी आउने बताएका छन् । 

कम्पनीका व्यवस्थापकहरुले पहिला स्टक बिक्री गर्ने र बाइब्याक घोषणा भएपछि धनाढ्य व्यक्तिहरुले सेयर किन्ने र होल्ड गर्दा कम्पनीबाट आउने नाफा ती धनाढ्यमा केन्द्रित भएको बाइडेनको प्रशासनले जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया