काठमाडौं, बलेफी हाईड्रोपावर लिमिटेडलको आईपीओमा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन परेका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्ममा ४ लाख ३३ हजार ४७१ आवेदनबाट ५२ करोड २२ लाख ४८ हजार रुपैयाँ बराबरको ५२ लाख २२ हजार ४८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्कासनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको ३.१४ गुणा बढी हुन आउँछ ।
कम्पनीले आज बुधबार देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको शेयरमा चैत २१ गतेसम्ममा आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता एनएमबी, सनराईज, हिमालयन र कुमारी क्यापिटल रहेका छन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ र सर्वसाधारणलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ गरी ३६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ९७ लाख ७० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया