रुस–युक्रेन युद्ध : विद्युतीय सवारीसाधनको उत्पादन प्रभावित

३ बर्ष अगाडि

एजेन्सी  - रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य भएको वृद्धिले विद्युतीय सवारीसाधनको उत्पादन प्रभावित बनेको छ । 

सस्तो मूल्यमा विद्युतीय सवारीसाधन उपलब्ध गराउने टेस्लाको सीईओ एलन मस्क र अन्य अटो निर्माताहरूको सपनामा रुस–युक्रेन युद्धले धक्का पुर्याउने देखिएको हो ।

युद्धको प्रभाव स्वरुप निकेल, लिथियम र अन्य निर्माण सामग्रीको मूल्यमा भइरहेको मूल्यवृद्धिले ब्याट्रीको लागत घट्ने दीर्घकालीन प्रवृत्तिलाई सुस्त बनाउनुका साथै अस्थायी रुपमा उल्टाउन सक्ने जनाइएको छ । विद्युतीय सवारीसाधनको निर्माणमा ब्याट्री सबैभन्दा महँगो हुने गर्छ । 

युक्रेन विवादका कारण निकेलको मूल्य ११ वर्षयताकै उच्च बिन्दुमा पुग्ने भएको छ । रुस निकेलको अग्रणी निर्यातकर्ता देश भएका कारण आपूर्तिमा समस्या देखिँदा यसको मूल्य वृद्धि हुने अनुमान गरिएको छ । 

रुसले विश्वमा उत्खनन हुने निकेलको करिब ७ प्रतिशत उत्पादन गर्ने गर्छ । यसका साथै रुस अल्मुनियम र प्यालेडियमको ठूलो उत्पादनकर्ता हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया