उद्योग चलाउन सेनालाई डेढ अर्ब

७ बर्ष अगाडि

काठमाडौँ, १५ माघ -सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैयाँ निकासा दिएको छ । मकवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिएको हो । मन्त्रीपरिषद्को निर्णयबमोजिम जंगी अड्डाका नाममा इमल्सन प्लान्टको उपकरण किन्ने प्रयोजनार्थ रकम निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ । 
पुरातात्विक महत्वका कतिपय पूर्वाधार सेनाले व्यावसायिक प्रयोजनका लागि भाडामा दिन थालेको आरोप लागिरहेका बेला सरकारले कल्याण कोषको लगानीमा सञ्चालित उद्योगको क्षमता बढाउन ठूलो धनराशी खर्च गरेको हो ।
रक्षामन्त्री भीमसेनदास प्रधानको प्रस्तावअनुसार गत मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले बारुद उत्पादनका लागि प्रयोग गरिने उपकरण खरिदमा लाग्ने रकम उपलब्ध गराउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको थियो । सुनाचरीस्थित इमल्सन प्लान्ट व्यावसायिक प्रयोजनका लागि नेपाली सेनाको कल्याणकारी कोषबाट सञ्चालित उद्योग हो । यसको आम्दानी सैनिक कल्याणकारी कोषकै नाममा जोडिने गर्छ ।
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले इमल्सन प्लान्टको उत्पादन क्षमता बढाउने उपकरण खरिद गर्न सरकारबाट १ अर्ब ५० करोड रुपैया निकासा भएको बताए । प्रवक्ता भण्डारीले उक्त प्लान्ट सेनाको मात्र नभई देशकै हितका लगि खोलिएको भन्दै यसलाई व्यापारिक प्रयोजनका लागि मात्र बुझ्न नहुने तर्क गरे, कारोबार दैनिकमा खबर छ  । 

७ बर्ष अगाडि

प्रतिक्रिया