काठमाडौ । एनसीसी बैंकसँग मर्जरको सहमति गरेको एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष लगायतका कर्मचारीले बदमासी गरेर नागरिकको निक्षेपमाथि खेलवाड गरेको घटनामा नेपाल राष्ट्र बैंकका गर्भनर समेत तानिने भएका छन् ।
लामो समयदेखि एपेक्सको उक्त घोटालाका बारेमा राष्ट्र बैंकले थाहा पाएर थाहा नपाएको जसरी बसेको भन्दै गर्भनर डा चिरञ्जिवी नेपाललाँई कारवाहीको दायरामा ल्याउने तयारी गरिएको छ ।
अर्थ मन्त्रालयले त्यस बारेमा अध्ययन गरिरहेको छ । अर्थका एक अधिकारीकाअनुसार एपेक्स बैंकको घोटालामा राष्ट्र बैंकका गर्भनरको हात देखिएको छ ।
नेपाली काँग्रेसका नेता भएकै कारण एपेक्सका अध्यक्ष विष्णुप्रसाद धिताललाई गर्भनर डा नेपालले संरक्षण गरेको प्रष्ट भएको अर्थका अधिकारीको भनाइ छ ।
यसबारेमा केही दिन भित्रैमा आवश्यक निर्णय आउने बताइएको छ ।
बैंक तथा वित्तीय संस्थाको बजार विस्तारसँगै यस क्षेत्रमा भित्रिएका विकृतिहरू पनि क्रमशः सार्वजनिक हुन थालेका छन् ।
बैकिङ क्षेत्रमा भएको घोटालामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायतका निकायले सुक्ष्म अध्ययन गरी रहेको छ । पछिल्लो एपेक्स प्रकरणमा समेत ती निकायले छानबिन गरिरहेको छ ।
वित्तीय संस्थाका प्रायः सबै तहका व्यक्ति संलग्न भएको एपेक्स प्रकरणमा नेपाल राष्ट्र बैंकसमेत मुछिएपछि बैंकिङ अपराधका अन्य घटना पनि सार्वजनिक हुने क्रममा रहेको छ । अहिले अग्रभागमा एपेक्स देखिए पनि बजारमा नाम चलेका बैंकरहरूका बैकिङ ठगी पर्दाफासको तयारीमा छ ।
उच्च स्रोतका अनुसार एपेक्स बैंक प्रकरणमा राष्ट्र बैंकले संरक्षण गर्दै आएको थियो । अघिल्लो साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एनसीसी बैंकका सञ्चालक विष्णुप्रसाद धितालसहित १९ जनालाई पक्राउ गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र रु एक अर्ब ५१ करोडको बैंक घोटाला सार्वजनिक भएको थियो ।
विगत १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसक्दा समेत कारबाही नगर्नुमा गर्भनर डा नेपालको बदमासी रहेको पाइएको छ ।
यसअघि क्यापिल मर्चेन्ट एन्ड फाइनान्स कम्पनीमा रु ७ अर्ब ७३ करोड ठगी भएको थियो । कर्मचारी र सञ्चालकको मिलेमतोमा कमसल धितोमा कर्जा प्रवाह गरी उक्त घोटाला गरिएको थियो ।
यस्तै नेपाल शेयर मार्केट एन्ड फाइनान्स कम्पनीमा रु ५ अर्ब ७९ करोड रकम अनियमितता भएको थियो ।
तत्कालीन एच एन्ड बी डेभलपमेन्ट बैंक, गोरखा डेभलपमेन्ट बैंक, पिपल्स फाइनान्स, हिमालय फाइनान्स, क्रिस्टल फाइनान्सलगायतमा पनि नागरिकको करोडौ निक्षेप हिनामिना गरिएको थियो ।
समवद्ध पक्षका २०७२ साल मंसिरमा नेपाल बैंकको एउटा ठूलो बैंकिङ घोटाला प्रकाशमा आएको थियो । सो प्रकरणमा १५५ जनालाई भ्रष्टाचारी ठहर गरेको थियो ।
सरकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुबाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरेकोमा तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जनाविरुद्ध आयोगले २०५८ फागुनमा मुद्दा दायर गरेको थियो ।
बैंकिङ कसुरसम्बन्धी अपराध निर्मुल पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायतले थप सुक्ष्म अध्ययन गरिरहेको छ ।
एनआइडिसिका यादव तानिदै
यस्तै सतर्कता केन्द्र तथा अख्तियारले एनआईडीसी डेभलपमेन्टको भ्रष्टाचार काण्डमा तत्कालीन महाप्रबन्धक शिवजी राय यादवलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको छ ।
हाल तत्कालीन महाप्रबन्धक यादवका बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
यादवविरुद्ध रु ७६ करोड अनियमिततालगायतका आरोप लागेको छ । यादवसहित अन्य बैंकका उच्च तहका कर्मचारी, सञ्चालक तथा राष्ट्र बैंकका उच्च अधिकारीसमेत अख्तियारको अनुसन्धानको दायरामा परेका छन् ।
प्रतिक्रिया