काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् ।
शनिबार शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले यसअघिको केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९÷ २० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएको बताए ।
ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढंगबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो ।
डा। महतले ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताए । भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उनले बताए ।
आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै उनले यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनि आग्रह गरे ।
प्रतिक्रिया