एजेन्सी - फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ ।
अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेसीले एक(एक गोल गरेका हुन् । खेलको ३५औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप २ गोल गर्यो । खेलको ७९औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए । यो जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ ।
विश्वकपमा यसअघिनै छनोट भईसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ। भेनेजुएला १० अंक जोडेर पुछारमा छ ।
दक्षिण अमेरिकी छनोटबाट चार राष्ट्रले सोझै विश्वकपमा स्थान बनाउनेछन् । जसमध्ये ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरूग्वेले कतार विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
पाँचौ स्थानको टोलीले प्लेअफ छनोट खेल्नुपर्नेछ। जसमा पेरू, कोलम्बिया र चिली दाबेदार छन् ।
प्रतिक्रिया