काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशत भन्दा धेरै स्थानीय तह जित्ने दाबी गरेका छन् ।
प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दलहरूका अवस्था दयनीय रहेको भन्दै एमालेले एक्लै सबैमा हाबी हुने बताए ।
भट्टराईले कांग्रेसलाई सुकेको रूख र एकीकृत समाजवादीलाई मसी सकिएको कलम भनेर टिप्पणी गरे । ‘रूख सुकेको छ । कलममा मसी छैन । हँसिया हतौडा गोलाकार भित्र छैन । सूर्य चम्किरहेको छ’ उनले भने, ‘ जनताले यो गठबन्धनको विकल्प खोजेका छन् । त्यो विकल्प नेकपा एमाले हो । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सबैलाई पछि पार्छ ।’
अघिल्लो स्थानीय तहको निर्वाचनमा ४५ प्रतिशत एमालेले जितेको भन्दै उनले अब एक्लै ६० प्रतिशत जित हुने दाबी गरे । ‘हाम्रो गणित प्लस हुँदै जान्छ, कांग्रेसकोमा, अरूमा माइनस हुन्छ’ उनले भने ‘गठबन्धनलाई जनताले खुट्टी हेर्दै पत्याइएको छ । अब उनीहरूको भविष्य छैन ।’
उनले आगामी निर्वाचनमा मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक बिस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबिचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।
प्रतिक्रिया