उरुग्वे विश्वकपमा छनोट, पोर्चुगलले अझै एक गेम खेल्नु पर्ने

३ बर्ष अगाडि

एजेन्सी - उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतार विश्वकपका लागि छनोट भएको हो । 

उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ । चौथो स्थानमा रहेको उरुग्वे विश्वकपका लागि छनोट भयो । 

योसँगै दक्षिण अमेरिकी छनोटबाट चार टोलीको टुङ्गो गालेको छ । ब्राजिल, अर्जेन्टिना र इक्वेडर यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा छ । यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ । 

यस्तै पोर्चुगलले बिहीबार राति युरोपियन छनोट प्लेअफको सेमिफाइनलमा टर्कीमाथि ३–१ को विजय हासिल गर्दै कतार विश्वकप २०२२ को सम्भावनालाई कायम राखेको छ । 

पोर्चुगलले घरेलु मैदानमा ओटाभियोको गोलबाट १५औं मिनेटमा अग्रता लिएको थियो । ४२औं मिनेटमा डिएगो जोटाले पोर्चुगलको अग्रता दोब्बर बनाएका थिए । जोटाले ओटाभियोकै पासलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए । 

६५औं मिनेटमा बुरुक यिलमाजले गरेको गोलबाट टर्कीले पुनरागमनको प्रयास गरेको थियो । ८५औं मिनेटमा टर्कीले बराबरी गर्ने सुन्दर अवसर खेर फाल्यो । यिलमाज नै पेनाल्टीमा गोल गर्न चुकेपछि टर्कीले बराबरी गर्ने स्वर्णीम अवसर गुमायो । 

इन्जुरी समयमा पोर्चुगलका म्याथ्युज लुइजले गोल अर्को गोल थपेपछि टर्कीको सम्भावना समाप्त भएको थियो । पोर्चुगलले अब प्लेअफ फाइनलमा मंगलबार नर्थ म्यासेडोनियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

नर्थ म्यासेडोनियाले गएराती सम्पन्न अर्को प्लेअफ सेमिफाइनल खेलमा युरोपियन च्याम्पियन इटालीलाई स्तब्ध बनाउँदै पोर्चुगलसँगको भेट पक्का गरेको हो । 


 
 

३ बर्ष अगाडि

प्रतिक्रिया