काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन् ।
भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरुलाई सिकाएर सहयोग पुर्याउनु पर्ने बताए ।
कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषमार्फत प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको सदुपयोग गरी स्वरोजगार र आयआर्जन बढाउँदै जीवनस्तर उकास्न सुझाव दिए ।
सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो ।
कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तरक्रिया गरेका थिए भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो ।
प्रतिक्रिया