एजेन्सी - रुस रहस्यले भरिएको एक देश हो । पूर्वी रुसको साइबेरिया क्षेत्रमा एउटा ‘क्वारी टाउन’ छ । यस प्रकारको यो सहर विश्वकै एकमात्र हो ।
आर्कटिक सर्कलबाट करिब ४५० किलोमिटर टाढा रहेको यो सहरको नाम मिर्नी हो । डेलिस्टारको रिपोर्टअनुसार यो सहर १७२२ फिटभन्दा गहिरो र ३९०० फिट ब्यास भएको खुलामुख भएको खाडलवरिपरि बसेको छ ।
यो खाडलभित्र रहस्यमय मात्रामा ठूलो परिमाणमा हीरा रहेको बताइएको छ । यो खाडलले आफूमाथि उड्ने जुनसुकै कुरा पनि तान्न सक्ने दाबी गरिएको छ । यो चिसो सहरको धेरै किलोमिटर टाढासम्म निर्जन क्षेत्र रहेको छ ।
मिर्नी सहरमा बसोबास गर्ने अधिकांश जनसंख्या एउटै कम्पनीमा काम गर्छन् । यो सहरको निर्माण खम्बामा गरिएको हो । वर्षको सात महिना त्यहाँको जमिन पर्माफ्रोस्टले ढाकिएको हुन्छ । गर्मी महिनाहरुमा पर्माफ्रोस्ट हिलोमा परिणत हुन्छ र स्तम्भहरुले मानिसको घरलाई पानी र हिलोबाट जोगाउँछन् ।
यो सहर १९५५ मा बसालिएको अनुमान गरिएको छ । जब सोभियत संघले दोस्रो विश्वयुद्धपछि पुनर्निर्माण गरिरहेको थियो । रिपोर्टका अनुसार भूगर्भविद्को टोलीले हीराको आशमा देशमा अन्वेषण सुरु गरेको थियो । अन्ततः टोलीले ढुंगाका ससाना टुक्रामार्फत यस क्षेत्रमा हीरा रहेको फेला पार्यो । सन् १९५७ मा स्टालिनले मिर्नी हीरा खानी निर्माण गर्न आदेश दिए ।
तर, सबैभन्दा ठूलो अवरोध खाल्डाखुल्डी भूभाग र मौसम बन्यो । मिर्नीको तापक्रम जाडोमा माइनस ४० डिग्री सेल्सियसमा झर्छ। त्यहाँ सवारीसाधनको टायर फुट्ने र तेल जम्ने गरेको तथ्यबाट चिसोको अनुमान लगाउन सकिन्छ ।
धेरै वर्षसम्म ठूलो मात्रामा हीरा उत्पादन गर्ने खानी सन् २००४ मा अचानक र आश्चर्यजनक रुपमा बन्द भयो । बाढीका कारण अहिले त्यहाँ उत्खनन सम्भव नभएको अधिकारीहरुले बताएका छन् ।
मानिसहरुले यी दाबीहरुलाई विश्वास गरेनन् तर धेरै वर्षसम्म यो विशाल खाडल सुनसान र एक्लो रह्यो । माथिको हवाई क्षेत्र पनि बन्द थियो । खानीको गहिराइका कारण साना विमान र हेलिकप्टर भित्र तान्न सकिने क्षमता बताइएको छ ।
जब सतहबाट चिसो हावा खानीको भित्री भागबाट तातो हावा फाल्छ तब यसले एक शक्तिशाली बबन्डर सिर्जना गर्न सक्छ । जसले आकाशमा उडिरहेको जुनसुकै वस्तु तान्न सक्छ ।
यो खानीसन् २०९९ मा पुनः सञ्चालन आएको छ । अब ५० वर्ष सम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया