विश्वकपमा नेपाली कामदारलाई लाइजान कतार इच्छुक

३ बर्ष अगाडि

काठमाडौं - कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले समकक्षी डा। अल बिन समिख अल मारीसँग शिष्टाचार भेट गरेका छन् । 

सोमबार भएको भेटमा नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । भेटका क्रममा मन्त्री श्रेष्ठले नेपाल–कतारबीचको  श्रम सम्झौता नवीकरणको मस्यौदाबारे जानकारी गराएका थिए । 

कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।साथै गत मङ्सिरमा काठमाडौंमा सम्पन्न नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि छलफल भएको थियो ।

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको छ । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । 

मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया