काठमाडौं, फिल्म ‘द कश्मीर फाइल्स’ले प्रदर्शनको पहिलो हप्तामा नै सय करोडको आँकडा छोएको थियो । बलियो ‘वर्ड अफ माउथ’ले गर्दा फिल्मको कमाईको रफ्तार दिन प्रतिदिन बढेको बढ्यै छ ।
जम्मा २५ करोडमा निर्माण भएको फिल्मले प्रदर्शनको १०औं दिनसम्म घरेलु बक्सअफिसमा १ सय ४१ करोडको व्यापार गरेको छ । दोस्रो हप्ताको पहिलो दिन १९ करोड १५ लाख कमाएको ‘द कश्मीर फाइल्स’ले आइतवार मात्र २४ करोड ८० लाखको व्यापार गरेको छ ।
६ सय स्क्रिनबाट प्रदर्शन थालेको फिल्मले दोस्रो हप्तासम्म आइपुग्दा भारतमा मात्र ५ हजारभन्दा बढी स्क्रिन पाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मलाई ‘अलटाइम ब्लकबस्टर’ भनेका छन् । फिल्मको आक्रामक कमाईले यतिबेला बलिउडको ‘निद हराम’ भएको छ । फिल्म स्टारकास्टले नभइ कन्टेन्टले चल्छ भन्ने प्रमाणित गरेको यो फिल्म नेपालमा भने यसै साता आएको हो ।
‘द कश्मीर फाइल्स’लाई तमिल, तेलुगू, कन्नड़, मलयालममा पनि डब गर्ने तयारी गरिएको छ । विवेक अग्निहोत्री निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतको मुख्य भूमिका छ । फिल्ममा कश्मीर पीडितको त्यसबेलाको कथा प्रस्तुत गरिएको छ, जब ९० को दशकमा उनीहरुलाई आफ्नै राज्यबाट निकालिएको थियो ।
प्रतिक्रिया