गौशाला – महोत्तरी जिल्लाको भन्सार कार्यालय मलिवारामा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय स्थापना भएको छ ।
नेपाल सरकारले कार्यालय परिसरमा मानवको स्वास्थ्यसँग सरोकार राख्ने खाद्य वस्तुको गुणस्तर मापन गर्न सो कार्यालयको स्थापना गरेको भन्सार प्रमुख केशव भण्डारीले बताउनुभयो ।
महोत्तरीका प्रजिअ उमेश ढकालले कार्यालयको स्थापनापछि अब स्वच्छ खाद्यान्न पाउने उपभोक्ताको अधिकार सुनिश्चित हुने बताउनुभयो । प्रजिअ ढकालले पूर्वाधार विस्तारले मात्र सेवाको गुणस्तर र दायरा फराकिलो हुने थप्नुभयो ।
उहाँले जलेश्वर भन्सार परिसरमा यसअघि स्थापना भएको बैंक, क्वारेन्टाइन, सुरक्षा गुल्म र नयाँ भवन लगायतका पूर्वाधारले व्यापार तथा राजश्व वृद्धिमा सहजीकरण भएको बताउनुभयो ।
प्रमुख भन्सार अधिकृत भण्डारीले गुणस्तर प्रमाणीकरण कार्यालयको स्थापनापछि जलेश्वर भन्सारमा कारोवारको दायरा फराकिलो भएको र राजश्व असुलीमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । अब व्यपारीले भन्सार परिसरबाटै आयातीत खाद्यवस्तुका गुणस्तर परीक्षणको सुविधा पाउनाका साथै यसबाट स्वास्थ्यमा समेत योगदान पुग्ने भएको छ ।
साथै अब आउने खाद्यवस्तु प्रयोगशालाबाट परीक्षणपछि मात्र भन्सार पास हुने हुँदा यहाँको कारोवार, राजश्व असुली र जनस्वास्थ्यमा अनुकूल प्रभाव पर्ने सम्भावना बढेको भन्सार प्रमुख भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया