काठमाडौं - नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो ।
सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।
गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनःप्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया