स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन : ओली

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरेका छन् । राजधानीको दरबार बङ्क्वेटमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तोे भनेका हुन् ।

गठबन्धन भन्ने मनोवैज्ञानिक त्रास मात्र भएको उल्लेख गर्दै ओलीले भने, 'स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन ।' माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले एमालेले भरिदिएको भाँडो रित्तिसकेको उल्लेख गर्दै माओवादी अब सकिसक्केको दाबी गरे । 'हामीले भरिदिएको भाँडो त सिद्धिसक्यो त प्रचण्डजी । खुरुखुरु एमालेमा प्रवेश गरेको लश्कर देख्नुभएको छ कि छैनरु हामी खुर्कीखर्की गरेर पनि निकाल्छौ,' ओलीले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउन थालेको उल्लेख गर्दे उक्त पार्टी ध्वस्त हुने दाबीसमेत गरे । 'गठबन्धनमा भएको एउटा पार्टी छ । त्यो बन्दैबन्दैन। त्यो ध्वस्त हुन्छ । हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ,' ओलीले भने ।

कांग्रेसलाई अबको निर्वाचनमा १३ सिटमा झार्नेगरी एमालेले तयारी गर्नुपर्ने धारणासमेत ओलीले राखे । 'कांग्रेस पोरपरारै २३ मा झरेको हैन । अब १३ मा झार्नुपर्छ,' ओलीले भने ।

३ बर्ष अगाडि

प्रतिक्रिया