काठमाडौं - बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएको मनिलाका शीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारका माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफिनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ ।
सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसर, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोतसाधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी नेपाललाई अबको दिनमा इन्फ्रास्ट्रक्चर फाइनान्सिङ मेकानिजम, माइक्रो इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोजेक्ट र एसएमई फाइनान्सिङ आवश्यक भएको उनले बताए ।
बैठकमा सीबीफिनका अध्यक्ष पवन कुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे ।
त्यस्तै यस कठिन समयमा देशका वाणिज्य बैंकहरुले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाइ छ ।
प्रतिक्रिया