निक्षेप संकलन तथा कर्जा विस्तारमा नेपाल बैंक प्रथम स्थानमा, सीडी रेसियो ९०.०३ प्रतिशत

४ बर्ष अगाडि

काठमाडौं - नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ ।

गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ । 

त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल क्रृण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । 

फागुन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रबाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ । 

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया