एजेन्सी - युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण रुस ऋण तिर्न नसक्ने अवस्थामा पुग्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा जारी भएका दुई ऋणपत्रमा लगानीकर्तालाई रुसले बुधबार ११ करोड ७० लाख डलर ब्याज तिर्नुपर्ने भएको छ । यी बन्डहरु डलरका लागि जारी गरिएको थियो । तर, रुसको ६३० अर्ब डलरको विदेशी मुद्रा सञ्चिती यतिबेला रोकिएको छ ।
क्रेडिट मूल्यांकन एजेन्सीहरुले पनि रुस आफ्नो ऋण तिर्नमा डिफल्टर हुने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसको ऋण तिर्न नसक्दाको असरप्रति चिन्तित रहेको तर यसले विश्वव्यापी वित्तीय संकट निम्त्याउनेमा विश्वास नगर्ने जनाएको छ ।
रुस सरकार र गजप्रोम, ल्युक आयल, स्बेर बैंकजस्ता सरकारी कम्पनीहरुमा विदेशी लगानीकर्ताको १५० अर्ब डलर ऋण छ । यी अधिकांश ऋण डलर वा युरोमा भुक्तानी गर्नुपर्छ । तर, रुसी व्यापारिक संस्थाहरुले प्रतिबन्धका कारण विदेशमा आफ्नो डलर वा युरो खाताहरु प्रयोग गर्न सक्दैनन् ।
यदि रुसले समयमै ऋण तिर्न असफल भयो भने यो १९९६ पछि पहिलोपटक डिफल्ट हुनेछ ।
प्रतिक्रिया