काठमाडौं - नेपाल राष्ट्र बैंकले दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा निष्काशन गर्न लागेको उक्त ‘नागरिक बचतपत्र, २०८३ (क)’ को समयावधि पाँच वर्ष हुने छ ।
केन्द्रीय बैंकले हिजो सूचना जारी गर्दै १० प्रतिशत ९ब्याजकर लाग्ने० वार्षिक ब्याजदर र पाँचवर्षे समयावधि रहेको बचतपत्र निष्कासन गर्ने जनाएको छ । बचतपत्रमा सबै नेपाली नागरिकले घटीमा रु १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुने र यसको अन्तिम साँवा भुक्तानी आगामी २०८३ चैत ३० गते हुने उल्लेख छ । इच्छुक खरिदकर्ताले बचतपत्र खरीद गर्न राष्ट्र बैंकको वेबसाइट प्रयोग गरी अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
बचतपत्र खरिद गर्न चाहनेले राष्ट्र बैंकले तोकेबमोजिम यही चैत १ गते देखि २० गतेसम्म आवेदन दिन सक्ने छन् । चैत ३० गते बचतपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया