काठमाडौं - नियम उलंघन गर्ने विभिन्न १४ वाणिज्य बैंकहरु नियामक निकाय नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् ।
वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमाससम्ममा विभिन्न नियमहरु उल्लंघन गर्ने १४ वाणिज्य बैंकहरुलाई गरिएको कारवाहीको विवरण प्रकाशित गरेको छ ।
कारवाहीमा पर्ने बैंकहरुमा नबिल बैंक, एनएमबि बैंक , नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक , नेपाल एसबिआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंक रहेका छन् ।
जसमध्य राष्ट्र बैंकको ब्याजदर नीति उल्लंघन गरेकोले नबिल बैंक सहित राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकलाई सचेत गराइएको हो ।
त्यसैगरी तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेकोले प्रभु बैंकलाइ १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराइएको छ भने संस्थागत मुद्दती निक्षेपमा तोकिएको नियम विपरित बढी ब्याज दिएको र एटलस इन्जिनियरिङ कन्स्ट्रक्सनको खाता रोक्का राख्ने निर्देशनलाई समेत पालना नगरेकोले नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई बोलाए सचेत गराएको हो ।



प्रतिक्रिया