पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दै, कुन देशबाट कतिको भयो लगानी प्रतिबद्धता ?

३ बर्ष अगाडि

चालु आर्थिक वर्षको ७ महिनामा ५ करोड रुपैयाँको मात्रै लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा एक आयोजनामा ५ करोड ६२ लाख रुपैयाँ बराबरको मात्रै लगानी प्रतिबद्धता आएको छ।

आर्थिक वर्ष २०७६/७७ मा जलविद्युत क्षेत्रमा ७ अर्ब ८ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो। जलविद्युत बाहेका पर्यटन तथा सेवा क्षेत्रमा आउने लगानीका प्रतिवद्धता भने बढ्दो क्रममा छ।

गत वर्षको तुलनामा यस वर्ष समग्रमा वैदेशिक लगानीको प्रतिवद्धता भने बढेको छ। गत आर्थिक वर्षको यसै अवधिमा २३ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएकोमा यस वर्ष ३१ अर्बभन्दा धेरैको प्रतिवद्धता आइसकेको छ।

यस अवधिमा सेवा र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता आएको छ। चालु आर्थिक वर्षको ७ महिनामा सेवा क्षेत्रमा १६ अर्ब ७० करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ भने पर्यटन क्षेत्रमा १० अर्ब १३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमुलक क्षेत्रमा ३ अर्ब ५६ करोडको प्रतिवद्धता आएको छ।

गत आर्थिक वर्षको यसै अवधिमा सेवा क्षेत्रमा ५ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो भने पर्यटन क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

उद्योग विभागका अनुसार चीनबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको माघसम्ममा चीनबाट मात्रै २३ अर्ब ९८ करोड लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याँकले देखाउँछ।

गत वर्षदेखि नै भारतको प्रतिवद्धता घटेको तथ्याँकले देखाउँछ। भारतबाट यस अवधिमा ५२ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी प्रतिवद्धता आएको छ।

यस्तै, स्पेनबाट ४ अर्ब ८५ करोड,सिंगापुरबाट १ अर्ब लगानी प्रतिवद्धता आएको छ भने अमेरिकाबाट ३० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ। 

२०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड,आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।

३ बर्ष अगाडि

प्रतिक्रिया