काठमाडौं-शेयर कारोबार समयमा हिजो (सोमबार) टीएमएसमा देखिएको समस्याप्रति लगानीकर्ता सशंकित भएका छन्।
हिजो बजार खुलेको १ घण्टा बित्न नपाउँदै टीएमएसमा समस्या देखिएको थियो। तर, नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएको भन्दै १२ः५३ देखि कारोबार रोकेर केही समयपछि पुनः सुचारु गर्ने भनेको थियो। तर, टीएमएसमा देखिएको समस्या समाधान नभएपछि अन्ततः नेप्सेले बाँकी समयावधिको कारोबार स्थगित गरेको थियो।
यसैबीच स्वतन्त्र पुँजीबजार संघले टीएमएसमा समस्या देखिएका कारण लाखौँ लगानीकर्ता शेयर कारोबार गर्नबाट वञ्चित भएको भन्दै नियामकको ध्यानाकर्षण गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै पटकपटक दोहोरिने गरेको यस्ता समस्या प्राविधिक रुपमै भएको हो कि मानवीय त्रुटि हो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेको छ। यथाशीघ्र यस विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन संघले आग्रह गरेको छ।
संघले अबका दिनहरुमा यस्ता किसिमका समस्या समाधानका लागि जिम्मेवार रुपमा प्रस्तुत हुन संघले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेप्सेको ध्यानाकर्षण पनि गराएको छ।

प्रतिक्रिया