फिल्म ‘द कश्मीर फाइल्स’ले बक्सअफिसमा ठूलो उछाल, तीन दिनमै २७ करोड बढी कमाई

३ बर्ष अगाडि

काठमाडौं- शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’ले लगानी उठाउन पनि नसक्ने विश्लेषण गरिएको थियो । तर, बलियो वर्ड अफ माउथले फिल्मको व्यापार दिन प्रतिदिन बढेको छ । 
 
फिल्मले पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको थियो । दोस्रो दिन फिल्मले ८ करोड ५० लाख छाप्यो । तेस्रो दिन फिल्मले बक्सअफिसमा ठूलो उछाल ल्याएको छ ।  तेस्रो दिन फिल्मले १५ करोड १० लाख कमाएको छ । तीन दिनमा फिल्मको कमाई २७ करोड १५ लाख पुगेको छ ।
 
फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्ममा कश्मीर पीडितको त्यसबेलाको कथा देखाइएको छ, जब ९० को दशकमा उनीहरुलाई आफ्नै राज्यबाट निकालिएको थियो । विवेक अग्निहोत्रीको निर्देशनमा तयार भएको फिल्मलाई अभिषेक अग्रवालले निर्माण गरेका हुन् ।
 
साउथ इन्डियन फिल्म ‘राधे श्याम’का कारण ७०० स्क्रिनमा खुम्चिएको ‘द कश्मीर फाइल्स’ले जबर्जस्त माउथ पब्लिसिटीका कारण हल संख्या बढाउँदै लगेको छ । नेपालमा भने यो फिल्म प्रदर्शनमा आएको छैन । ‘राधे श्याम’ले कमजोर व्यापार गरेपछि वितरक मनोज राठीको समुहले ‘द कश्मीर फाइल्स’लाई नेपाल भित्राउने भएको छ । सम्भवतः शुक्रवार फिल्म नेपालमा प्रदर्शन हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया