कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रालले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । यो खोप लगाएका ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सो अनुसन्धान गरिएको थियो ।
उक्त अनुसन्धान गएको सन् २०२१ को जुलाईदेखि यस वर्षको फेब्रुअरी महिनासम्मको गरिएको थियो । सो अध्ययनबाट फाइजर खोपको दुई मात्रा खोप लगाएका ५ देखि १२ वर्षका बालबालिकामा ओमिक्रोनको संक्रमण ३१ प्रतिशतले कम भएको देखिएको थियो ।
त्यसैगरी १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा यो जोखिम ५९ प्रतिशत कम भएको देखिएको सिडीसीले जनाएको छ ।
दिल्लीमा आगलागीबाट सातको मृत्यु
नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ ।प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरुमा शनिबार बिहान अकस्मात आगो लागेको थियो ।
सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरु केही घाइते भएका अधिकारीहरुले जनाएका छन् ।एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो ।
आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अुनसन्धान थालेको जनाएको छ ।
त्यसैगरी यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामानहरु हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका पनि समाचारमा जनाइएको छ ।
प्रतिक्रिया