यस साताको शेयर बजार : करिब २० अंकले बढ्यो नेप्से,कारोबार रकम भने घट्यो

४ बर्ष अगाडि

काठमाडौं- यस साता शेयर बजार बढेको छ। यस साता नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक करिब २० अंक बढेको छ।

गत साता २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.७८ प्रतिशत अर्थात १९.७५ अंक बढेर २५६६.७९ विन्दुमा बन्द भएको छ।

यस साता ५ मध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन बजार घटेर बन्द भएको थियो भने २ कारोबार दिन बढेर बन्द भएको थियो।

गत साता दैनिक औषतमा साढे ३ अर्बको शेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औषतमा साढे २ अर्बको मात्र शेयर कारोबार भएको छ। यस साताको दैनिक औषत कारोबार रकम, गत साताको तुलनामा २७.२८ प्रतिशत कम हो। त्यसैगरी, यस साताको दैनिक औषत कारोबार संख्या २०.२५ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या ३०.०६ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता बजार पूँजीकरणमा पनि सुधार देखिएको छ। गत साता ३६ खर्ब ७ अर्ब रुपैयाँ रहेको नेप्सेको बजार पूँजीकरण, यस साता २९ अर्ब रुपैयाँ बढेर ३६ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशत बढेको छ। गत साता ४३०८.४७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३३.८९ अंक बढेर ४४४२.३६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ।

यस साता व्यापार उपसमूहको सर्वाधिक १.७७ प्रतिशत घटेको छ। त्यसैगरी, अंकका आधारमा भने यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७९.७१ प्रतिशत घटेको छ।

यस साता मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ११.३८ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता कर्णाली डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, अपि पावर र न्यादी हाइड्रोपावरको शेयरमूल्य अन्य स्टकको तुलनामा धेरै बढेका छन्। कारोबारमा आएको रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस साता सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।

यस साता स्वाभिमान लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, एनआईसी एशिया बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया