गुल्मी- मदाने गाउँपालिकाको कूल ९९ लाख ४१ हजारको लागतमा १७ घर निर्माण भएका छन् । निर्माण भएका सबै घर दुई कोठे हुन् । जसमा निःशुल्क मिटरबक्स जडान गरिएको छ भने खानेपानीका धारा निर्माण गरिएको छ । बस्ती निर्माणका लागि मदाने गाउँपालिकाले आव २०७५/७६ मा रु १५ लाखमा १७ रोपनी जग्गा किन्यो । अर्को वर्ष अर्थात् २०७६/७७ मा घर निर्माण प्रक्रिया सुरु गर्यो । उक्त वर्षमा घडेरी खन्नेदेखि घर बनाउनेसम्मको काम भएको थियो । तर घरको फिनिसिङ गर्न र खानेपानी सुविधा पुर्याउन बाँकी थियो । बाँकी काम पालिकाले २०७७/७८ मा पूरा गर्दै पीडित परिवारलाई घर नै हस्तान्तरण गरेको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन । “धेरै चुनौतीका साथ घर निर्माण भएका छन्”, उनले भने, “निर्वाचनमा गरेको बाचा पूरा गरेका छौँ ।”
कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं सोही क्षेत्रका सासंद प्रमुख अतिथि गोकर्ण विष्टले घरको सही सदुपयोग गर्न आग्रह गरे । भौगोलिक विकटताका कारण विकासमा अप्ठ्यारो भए पनि ग्रामीण भेगमा घर निर्माण गर्नु ठूलो उपलब्धि भएको उनको भनाइ छ । राज्यले विपन्न नागरिकको लागि उपाहारस्वरूप घर प्रदान गरेको भन्दै नेता विष्टले आफूहरू दुःख–सुखमा सँगै रहने प्रतिबद्धता व्यक्त गरे । त्यसका साथै सिर्सेनीमै सङ्घीय सरकारको लागतमा भूकम्प पुनःनिर्माणमार्फत ३२ घर बनेको विष्टले बताए । “हाम्रो निरन्तरको प्रयासले आज बस्ती बन्न सफल भयो”, विष्टले भने, “तपाईँहरूको रोजगारीको विषयमा हामी छलफल गर्छौँ ।”
प्रतिक्रिया