काठमाडौं - बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम डेस्क हटाइएको घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले हटाइएको घोषणा
गरेका हुन् ।
यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्यरूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया थियोे ।
अब श्रमिकले श्रम डेस्क नगई जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् । विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्ने वैदेशिक रोजगार विभागले बताएको छ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ ।
श्रम स्वीकृति सक्कली या नक्कली भनेर हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको विभागको भनाइ छ । योसँगै वैदेशिक रोजगारीमा जान विमानस्थल पुग्ने श्रमिकले प्रवेश र श्रम स्वीकृति स्टीकर परीक्षणका लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।
मन्त्रालय र विभागले केही समययता वैदेशिक रोजगार प्रशासनमा रहेका झन्झट क्रमशः हटाउँदै आएको छ ।
प्रतिक्रिया