कम्युनिष्ट पार्टीहरू अहिले हरियो रङसँग पनि तर्सिन थाले : विश्वप्रकाश शर्मा

३ बर्ष अगाडि

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू अहिले हरियो रङसँग पनि तर्सिन थालेको बताएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङको चुनाव चिन्ह बनाउने निर्णयप्रति आपत्ति जनाएपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । 

महामन्त्री शर्माले मतपत्र, चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा निर्वाचन आयोगको अधिकारको कुरा भएको उल्लेख गरे । सो विषय राजनीतिक दलको अधिकारको विषय नभएको उनले बताए । 

एमाले अध्यक्ष ओलीलाई उखानमै जवाफ फर्काउँदै महामन्त्री शर्माले भने– ‘कमरेड केपी ओलीलाई मेरो भनाई के छ भने रङसँग डराउनुपर्दैन ढंग सच्याए हुन्छ । हरियो राख्ने कि निलो पहेँलो राख्ने कि बैजनी रङ राख्ने कि त्यो निर्वाचन आयोगको कुरा हो । हरियो रङसँग नै डराउने हैन सिद्धान्त र विचारसँग बहस गर्नुपर्छ । हरियो रङबाट तर्सिनु हुन्न । ‘पार्टी विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’ भन्ने नयाँ उखान बनाउन भएन ।’ 

उनले विचार सिद्धान्तमा बहस गर्नुपर्ने कुरामा जोड दिए । शर्माले भने– ‘काँग्रेसको चुनाव चिन्ह चिन्ह हरियो नै हुन्छ । रुख पनि हरियो नै हुन्छ । हरियो नराख भन्नेहरु हरियोबाट डराउन भएन । आफ्नो ढंग सच्याउन र रङसँग नडराउ भन्न चाहन्छु ।’ 

मंगलबार एमाले अध्यक्ष ओलीले हरियो रंगको चुनाव चिन्ह एमालेलाई स्वीकार्य नहुने र त्यसबारे आफूले निर्वाचन आयोगसँग पनि कुरा गर्ने बताएका थिए । मतपत्रमा हरियो चिन्ह बनाउने निर्णय गरेर आयोग पनि एमालेको विरुद्धमा गएको आरोप लगाएका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया