काठमाडौं - इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
श्रीमती आरती परियारलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको हो । ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते इन्टरपोल महासचिवालयबाट सुपुर्दगी तथा २०७७ साउन १९ मा ‘रेड नोटिस’ जारी भएको थियो ।
यादवलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको इन्टरपोल शाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया