काठमाडौं - वैदेशिक रोजगार विभागले आगामी बुधबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्कबाट ई–स्टिकरमा छाप लगाउने व्यवस्था हटाउने भएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति निस्साको रूपमा क्युआर कोडसहितको ई–स्टिकर पाउने गरेका छन् । विभागले उक्त स्टिकर वैदेशिक रोजगारीमा जाने सम्बन्धित कामदारको इमेल तथा कामदारको फेमिस एकाउन्टमा नै ई–स्टिकर उपलब्ध हुने र श्रम स्विकृतिको जानकारी कामदारको मोबाइलमा एसएमएसमार्फत उपलब्ध हुने भन्दै आफुलाई प्राप्त क्युआर कोड सहितको ई–स्टिकर अनिवार्यरूपमा मोबाइलमा डाउनलोड गरेर राख्न वा ई–स्टिकर प्रिन्ट गरेर साथमा राख्न आग्रह गरेकोे छ ।
यसअघि श्रम डेस्कले सोही प्रिन्ट प्रतिमा छाप लगाइदिने गरेकोे थियोे । अब वैदेशिक रोजगारीमा जाने कामदारले लेबर डेस्कको झन्झट व्यहोर्नुपर्ने छैन । पहिलोपटक वैदेशिक रोजगारमा जाने कामदार कतिपय कर्मचारीको बदनियतले भरिएको रूखो व्यवहारबाट पीडित हुनु परेको वैदेशिक रोजगार व्यवसायीहरूको गुनासो रहँदै आएको थियोे । वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति दिने र समान हैसियतको लेवर डेस्कले त्यसको चेक गर्ने काम श्रोत, साधन तथा जनशक्तिको खर्च मात्रै भएको धेरैको टिप्पणी थियोे ।
प्रतिक्रिया