घुम्ती शौचालय सञ्चालनमा

७ बर्ष अगाडि

राँझा – नेपालगञ्ज उप–महानगरपालिकाले आजदेखि घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ । 

नगर क्षेत्रको व्यस्त स्थान गणेशपुर बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चोक र त्रिभुवन चोक गरी चार स्थानमा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । कुल रु ५९ लाख लागतमा उक्त घुम्ती शौचालय सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाले जनाएको छ । 

नगर प्रमुख डा धवलशम्शेर राणाले निरन्तरको प्रयासपछि सञ्चालनमा ल्याइएको घुम्ती शौचालयको सहज सञ्चालन, उपभोग र व्यवस्थापनमा सबैको साथको आवश्यकता रहेको बताउँदै पर्याप्त सार्वजनिक शौचालयको अभावमा भोग्नु परेको सास्तीलाई सम्बोधन गर्न घुम्ती शौचालय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

एक ठाउँबाट अर्को ठाउँ सहजै लैजान सकिने सो अत्याधुनिक शौचालयमा एकै पटक आठ जनाले प्रयोग गर्न सक्ने छ । यसको सञ्चालनपछि नगरको सरसफाइमा मद्दत पुग्ने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । 

तीन महिनाका लागि शौचालय सञ्चालन गर्न रु ७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई जिम्मेवारी दिइएको छ । सञ्चालन खर्चका लागि उपभोक्तासँग पिशाव गरे वापत रु ५ र दिसा गरेवापत रु १० शुल्क लिइने भट्टले जानकारी दिनुभयो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया