काठमाडौं - रुस–युक्रेन युद्धका कारण समस्यामा परेका वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको उद्धारका लागि वैदेशिक रोजगार विभागले सक्रियता देखाएको छ ।
रुस–युक्रेन युद्ध शुरूवात भएको दशौं दिन आइतबार एक सूचना जारी गर्दै विभागले युक्रेन तथा प्रभावित क्षेत्रमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वा नलिई गई कामदारको रुपमा कार्यरत रहका नेपाली कुनै अप्ठ्यारोमा परेको वा उद्धार गर्नुपर्ने अवस्थामा रहेको भए विभागले सार्वजनिक गरेको ठेगानामा सन्देश पठाउन आग्रह गरेकोे छ ।
विभागले समस्यामा परेका नेपालीले कुनै माध्यमबाट विदेशस्थित नेपाली नियोग तथा नेपालमा रहेका आफन्तमार्फत पनि आफ्नो अवस्थाबारे यथाशक्य छिटो अध्यावधिक गराउन समेत अनुरोध गरेको छ ।
हाल युद्धको सामना गरिरहेको युक्रेनमा गत वर्ष १ सय ६ जना नेपाली कामदार श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकमा उल्लेख छ । उनीहरू कति फर्किए स्पष्ट हुन नसकेको बताइएको छ । कतिपय भिसामा गई स्थानीयस्तरमा रोजगारीमा जोडिएको बताइएको छ ।
प्रतिक्रिया