काठमाडौं, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालसँग भेटेर २५ ओटा जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन लिखित माग गरेको छ ।
आइपीको अनुमतिका लागि सेबोनमा आवेदन दिएर पाइपलाइनमा रहेका २५ जलबिद्युत कम्पनीहरुको सम्बन्धमा सेबोनले लामो समय भइसक्दा पनि अनुमति नदिएपछि नवनियुक्त अध्यक्ष हमालसँग आज भेट गरी यस्तो माग गरेको हो ।
जलबिद्युत कम्पनीहरुको आइपीओको सम्बन्धमा सेबोन अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीररुपमा प्रभाबित भएको बारेमा उनीहरुले अध्यक्ष हमालको ध्यानाकर्षण गराएका थिए । इप्पानका तर्फबाट कार्यसमिति सदस्य उत्तम ब्लोन लामा र प्रकाशचन्द्र दुलाल एक दर्जनभन्दा बढी उर्जा उद्यमीसहित सेबोनको कार्यालय खुमलटार गएका थिए ।
उनीहरुले आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नु पर्ने अवस्था श्रृजना भएको पनि अध्यक्ष हमाललाई जानकारी गराए ।
आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको सेबोनलाई इप्पानले दिएको निबेदनमा उल्लेख गरेको छ ।
त्यस्तै आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बौ रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु पनि गम्भीररुपले प्रभाबित इप्पानले उल्लेख गरेको छ । सो अबसरमा उर्जा उद्यमी गुरुप्रसाद न्यौपानेसहितले आइपीओ रोकिदा आयोजनाहरुलाई परेको समस्या र सेबनसँगको अपेक्षाका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
इप्पान र उर्जा उद्यमीहरुको धारणा सुनेपछि सेबोनका नवनियुक्त अध्यक्ष हमालले सेबन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकाल कार्यक्षमता पूर्णरूपमा प्रयोग गर्ने बताउँदै जलबिद्युत क्षेत्रको ईपीओको समस्या तत्काल समाधान गर्ने पनि प्रतिबद्धता जनाए।
प्रतिक्रिया