काठमाडौं - ग्रीन भेन्चर्स लिमिटेडको स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा अन्तिम दिनसम्ममा ११७ प्रतिशत आवेदन परेको छ ।
कम्पनीले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन शुक्रबार पौने ६ बजेसम्म ६ हजार ९२५ जनाबाट ३६ करोड ७७ लाख ६७ हजार रुपैयाँ बराबरको ३६ लाख ७७ हजार ६७० वटा आवेदन परेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुङ्गाका बासिन्दाहरुका लागि प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । आईपीओमा शुक्रबार कार्यालय अवधिसम्ममा आवेदन दिन सकिने व्यवस्था थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ताका लागि सेयर खरिदका लागि आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रतिक्रिया